जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरूमा बढी असर परेको छः उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताएकी छन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्युनिकरणका लागि पहल गनुपर्नेमा जोड दिएकी छन् ।
उनले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरूलाई खासै जानकारी नभएपनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरूलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन् ।
उनले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरु उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताइन् । उनले तराईमा पनि विभिन्न रोगहरू भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरू विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताइन् ।
उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएकमो उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरुको पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गरिन् । उनले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आजदेखि नै सबै मिलेर लाग्न्ुको विकल्प नरहेको बताइन् । उनले नेपालमा भएका प्राकृतिक श्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजानसके समृद्ध देश बनाउन सकिने बताइन् ।