बाढी, पहिरो, डुबानसहितका विपद्मा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदहरूको सुझाव
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरूले बाढी, पहिरो र डुबानलगायतका विपद् व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारलाई पनि उचित ढंगले परिचालन गर्ने योजना बनाउन पनि सरकारलाई सचेत गराएका छन् ।
सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट वर्षातमा ४ लाख १२ हजार घर परिवारका १८ लाख मानिसहरू प्रभावित हुने एउटा अनुमान गरिएको तथ्यांक पेश गर्दै तत्काल त्यसबाट जनजीवनमा क्षति नपुग्ने गरी पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए ।
सांसद मानवीर राईले सोलुखुम्बुमा हिम पहिरोको सम्भावना समेत रहेको औल्याउँदै त्यसका पनि उचित व्यवस्थापन हुनेगरी विपद् व्यवस्थापनका काम अघि बढाउन सरकारसँग आग्रह गरे । उनले सोलुखुम्वुमा आगलागिबाट १४ घर जलेर नष्ट भएको स्मरण गराउँदै तत्काल पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने,”सोलुखुम्बु जिल्लामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएको छ । उहाँहरूको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहन्छु । मनसुन सुरू भएको छ । सोलुखुम्बु जिल्ला कफलो माटो भएकाले बाढी, पहिरो र हिम पहिरोबाट जोखिम जिल्ला भएकाले त्यसको तयारीका लागि सरकारसँग आग्रह गर्न चाहन्छु ।”
त्यसैगरी दाङको राजपुर घाईघाटमा डढेलोले २ घर जलेर नष्ट भएकाले पीडितलाई आवश्यक आवाससहितको क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएका छन् । सांसद मेनुकाकुमारी पोखरेलले दाङलगायतका देशभरका गुठी पीडितहरुको समस्या समाधान लागि आवश्यक कानूनी व्यवस्था तत्काल गर्न पनि सरकारलाई अनुरोध गरे ।
सांसद रामशंकर यादवले तराईमा खानेपानीको तत्काल व्यवस्था मिलाउन सरकारले ढिलाई गर्न नहुने बताए । उनले बर्षात बाढि र डुबान हुने समस्या समाधानका लागि आवश्यक तयारी गर्न पनि सरकारलाई सचेत गराए ।
सांसद यादवले नदीनाला नियन्त्रण गरी जनधनको क्षति हुन नदिन पनि सरकारले उचित कदम चाल्नुपर्ने बताए ।