संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँः सांसद गौतम
प्रकाशित मिति : 4 June, 2024 11:59 am
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले अब यही रूपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताए । उनले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताए ।
उनले तराईमा गर्मी बढीरहेको र जनजीवन प्रभावित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारलाई आग्रह गरे ।