मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौं । आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदै छन्।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन्। आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा छन् । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।
१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एकरएक सिट छ ।