गृहमन्त्री लामिछानेको गुनासोः सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुःखेसो पोखे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाईं लड्न भने नछोड्ने दृढता व्यक्त गरे ।
“मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा बिरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकी जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरूका लागि कयौं रिपोर्टहरू बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाईयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ,”उनले भने ।
उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।