७ माघ २०८१, सोमबार

सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला

प्रकाशित मिति :  6 June, 2024 8:24 am


तस्विर: स्याङ्जा सेरेफेराे

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताए।

बर्तौलाले यस समितिमा एमालेको भुमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको तर्क गर्दै समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने भनाइ राखे।

उनले भने, “यो छानविन समितिले दुई, चारवटा सहकारीको मात्रै होइन, सिंगो देशभरीका सहकारीमा जहाँ जहाँ नागरिकहरुले दुःख पाएका छन्, वचतको अपचलन भएको छ, ठगी भएको छ, बद्मासी भएको छ, सार्वजनिक रुपमा जनताको गुनासो लिने र मसिनो छानविन गरेर दोषिहरुलाई आवश्यक कारबाहीको प्रक्रियामा सिफारिस गर्ने प्रक्रियामा यो समिति अब्बल हुन्छ । समितिमै बस्ने, समितिकै काम, प्रक्रियालाई अवरोध सिर्जना गर्नका लागि दुषित वक्तव्यबाजी गर्नेहरुबाट हामी सचेत छौँ । यो समितिले राम्रो काम गर्छ ।”

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !