शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छः सचेतक चौधरी
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) की सचेतक रूपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक सोशीले शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी हुन् ।
उनले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको भन्दै पटक–पटक संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताइन् । उनले सहमतीबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण गराइन् ।
“शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीको विषयलाई म एकचोटी पुनः यो संसदमा बोल्न चाहन्छु । शान्ति प्रक्रिया अब टुंगिन्छ कि भन्ने हुँदाहुँदै पनि फेरि पनि रोकिने क्रम जारी रहेको छ । सरकारलाई आग्रह गर्न चाहन्छु, अब यसलाई विलम्व नगरी सहमतीय प्रणालीबाट यथाशीघ्र टुङ्ग्याउने प्रक्रियातिर ध्यान जाओस्,”उनले भनिन् ।
सचेतक चौधरीले विपद् पूर्वतयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराए ।