७ कार्तिक २०८१, बुधबार

सुनछहरी गाउँपालिकाद्वारा उपहारको एम्बुलेन्समै घोटाला, रु. ११ लाख भन्दा बढी ‘अनियमिता’

प्रकाशित मिति :  7 June, 2024 12:39 pm


काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकाले भारतीय दूतावासले उपहार दिएको एम्बुलेन्समै अनियमिता भएको खुलासा भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उपहार पाएको एम्बुलेन्समै काठमाडौँको एक कम्पनीसँग मिलेर गाउँपालिकाका अध्यक्षकै स्वीकृतिमा १२ लाख रुपैयाँ खर्च गरेको खुलेको हो ।

नेपाल सरकारले कर छुट गरेको अवस्थामा नयाँ एम्बुलेन्स नै १२ देखि १३ लाख रुपैयाँमै उपलब्ध हुन्थ्याे । उपहार पाएको एम्बुलेन्सको रङ्गराेगन गर्दा पनि बढीमा साढे २ लाखसम्म खर्च हुनसक्ने जानकारहरू बताउँछन् ।

अनौठो विषय त गाउँपालिकाको स्वास्थ्य उपचारको जिम्मा लिएको स्वास्थ्य शाखाले लागत स्टिमेट गरेको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा भनिएको छ,“सहयोग स्वरुप प्राप्त भएको एम्बुलेन्समा के कस्तो सामान जडान गर्न पर्ने हो सोके हेभिइक्विपमेन्ट सडक डिभिजनबाट प्राविधिक मुल्याङ्कन तथा लागत अनुमान तयार गरी सेटअप तथा जडान गर्नुपर्नेमा गाउँपालिकाको स्वास्थ्य शाखा प्राविधिकबाट ल.ई.(लागत स्टिमेट) तयार गरी कार्यालय प्रमुखले स्वीकृत गरी सोही वमोजिम पटक पटक गरी काठमाडौँको फर्मसँग कार्य गरी भुक्तानी गरेको अनियमित कार्य रु ११ लाख ४३ हजार ६ रुपैयाँ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एम्बुलेन्स खरिदका लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त ‘अध्यक्ष आसबहादुर पुनले एम्बुलेन्स सहयोगका लागि भन्दै भारतीय दूतावासलाई पत्र लेखेका थिए । सोही पत्रलाई आधार मान्दै दूतावासले पालिकालाई एम्बुलेन्स उपहार दिएको थियो ।

निर्वाचनबाट नयाँ पालिका अध्यक्षको रुपमा आएपछि धनबहादुर पुनले एम्बुलेन्स बुझेका थिए ।

एम्बुलेन्सलाई गाउँपालिकामा लगेर विधिपूर्वक पुँजा गरेर सञ्चालनमा ल्याइएको थियो ।

भुक्तानी रकम हेर्दा रङरोगन लगायतमा बढीमा २ लाखदेखि २ लाख ५० हजार खर्च हुँदा पनि ९ लाख रुपैयाँ घोटाला भएको अनुमान छ । महालेखाले भने ११ लाख ४६ लाख रुपैयाँलाई नै अनियमिता भनेको छ ।



प्रतिक्रिया दिनुहोस !