७ मंसिर २०८१, शुक्रबार

राेल्पामा एउटा प्रावि शिक्षकको सरुवा विवाद गाउँपालिकादेखि अदालतसम्म

प्रकाशित मिति :  7 June, 2024 5:58 pm


रोल्पा । विपना घर्तिमगर (विष्ट) शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरिन् ।

प्राथमिक तृतीय श्रेणीको शिक्षक पदमा स्थायी नियुक्ति लिएर रोल्पाको लुङ्ग्री गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय लुङ्ग्री-३ सिमगिठामा पदस्थापना भएर २०७९/१२/२३ नियुक्ति लिएर २९ गते हाजिर भइन् ।

हाजिरी लगत्तै घर पायक पर्ने भएकाले सुनिलस्मृति गाउँपालिका-३ मिझिङकाे खारामा सरुवा लिन चाहिन् । उनले सरुवा भइ जाने र सरुवा भइ आउने दुबै विद्यालयको सरुवा सहमति लिइन् ।

दुबै विद्यालयको सहमति लिएर २०८०/११/१७ गते सुनिलस्मृति गाउँपालिकामा निवेदन समेत दर्ता गराईन् । उनको निवेदन तत्काल सुनुवाई भएन ।

सुनिलस्मृति गाउँपालिकाले सरुवामा सहमति नदिएकाे भन्दै उच्च अदालत तुलसीपुरमा रिट हालिन् ।

उच्च अदालतले परमादेश जारी गर्‍याे  । अदालतको २०८१ जेठ १७ गते शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको नाममा पत्र काट्दै ‘कानुन बमोजिम टुङ्गो लगाई निवेदकलाई सो को जानकारी दिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहरी फैसला भएको’ जानकारी गरायो ।

अदालतको आदेश अनुसार समन्वय इकाईले यही जेठ २२ गते नै विपनाको सरुवा गरिदियो । यसै अनुसार विपनालाई खारामा सरुवा हुन लुङ्ग्री गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालयले रमानापत्र काटिदियो ।

पत्र लिएर विपनाले सरुवा भएको विद्यालयमा हाजिर गरेकी छन् । विपनाले हाजिर गरेपछि फेरी सुनिलस्मृति गाउँपालिकाले हाजिर नगराउन भन्दै पत्र काटेको छ । पालिकाले परमादेशको आदेश जारी गरे पनि पूर्ण पाठ नआईसकेकाले हाजिर नगराउन विद्यालयलाई भनेको छ ।

पालिकाकाको पत्र वडामा पुगेको र वडाले फोन मार्फत जानकारी गराएको छ । शिक्षिका विपनाले भने हाजिर नियमित गरेकी छन् । हाजिर नगराउन भन्दै जेठ २४ गतेको पत्र पालिकाले पठाए पनि शिक्षिका विपनाले भने आजसम्म हाजिर गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !