२३ भाद्र २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा

प्रकाशित मिति :  7 June, 2024 6:21 pm


काठमाडाैँ । सुदुरपश्चिम प्रदेशको कैलालीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको आयोजनामा आइतबारदेखि कैलालीको धनगढी स्थित ओम प्यालेसमा मेला सुरू हुँदैछ ।

मेलाको बिषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिककोबिच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको बताए ।

“मेलाले रोजगारीका अवसरहरू सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ ।,” उनले भने ।

त्यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए ।

“बर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु ।,” उनले भने ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । “विभिन्न कम्पनी, उद्योगबाट रोजगारी दिनका लागि माग भएको छ । हामीले त्यहीँ अनुसार रोजगारी दिनका लागि व्यवस्था गरेका छौं । उनीहरु सबै कम्पनीहरूका स्टलहरू पनि रहनेछन् ।,” उनले भने । यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुने उनले बताए ।

श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पुरा भएको बताए । हालसम्म मेलामा ३५ वटा नीजि क्षेत्रका स्टलहरु रहने छन् । ३५ स्टलहरु बुक भैसकेको र थप स्टलहरु बुक हुने क्रममा रहेको उनले बताए ।

मेला विहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स सुदुरपश्चिम प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।



प्रतिक्रिया दिनुहोस !