सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्नः साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले साे कुरा बताएका हुन्।
उनले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धि कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए । सांसद गौतमले नेपाललाई किसानहरूको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताए ।
सांसद गौतमले भन्ने बेलामा समाजबाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमती रहेको बताए ।