काठमाडौँ महानगरपालिकाद्धारा सिंहदरबारबाट चार बालश्रमिकको उद्धार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।
बुधवार सिंहदरबार भित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौँ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए ।
उनले चार जना बालबालिकामध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताए ।
उनले महानगर पालिकाले काठमाडौँ महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिंहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्धार गर्ने बताए । उनले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताए ।
उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आएपनि अनुगमनका क्रममा नभेटिएको बताए । उनले बालश्रम बिरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए ।
उनले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताए । उनले दिनभरी काम गर्नुपर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्धार गरिएको बताउनु भयो । उहाँले महानगर पालिकाले सबै बाल उद्धारसम्बन्धि सरकारी निकायहरूसँगको समन्वयमा काम गरिरहेको बताए ।