विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न सकेको छैन: योगेश भट्टराई
प्रकाशित मिति : 13 June, 2024 11:45 am
काठमाडौँ । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरूमा परिरहेको बताए ।
उनले विपद् पूर्वतयारीबाटरे सरकारको तयारी सन्तोषजनक नरहेको बताउँदै विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए ।
सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।