२ कार्तिक २०८१, शुक्रबार

कानून, समाजलाई मान्य हुनेगरी आए सामाजिक सञ्जालसँग आपत्ति छैनः मन्त्री शर्मा

प्रकाशित मिति :  13 June, 2024 3:12 pm


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् ।

बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन् ।

उनले कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिएको बताइन् ।

नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने भन्दै मन्त्री शर्माले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘टिकटकको विषय पनि उठाउनुभएको छ । यो विषय के हो भने हामीले टिकटक, क्याबिनटेबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ । अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन । तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट पनि भइरहेको छ । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो । त्यस कारणले हाम्रो समाजअनुकुल हुनेगरी प्रयोग गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् ।

सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमाँ दर्ता गर्ने प्रक्रियामा रहेको उल्लेख गदै मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् ।

मन्त्री शर्माले टिकटक नाममा समस्या नभइ कन्टेनमा समस्या रहेको भन्दै नेपालको नियम कानून र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन्।

उनले भनिन् ‘सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन । टिकटक नाममा हाम्रो कुनै समस्या होइन । टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ । हामीले फेसबुक सञ्चालकहरुसँग भेटेका छौँ । उहाँहरुसँग हामीले उहाँहरुलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ । यहाँ दर्ता भएको हुनुपर्छ । अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानूनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ ।’

मन्त्री शर्माले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तरबिरोध भएको उल्लेख गर्दै उनले राजनीतिक व्यवस्थाअनुरुपको सामाजिक चेतना कसरी निर्माण गर्ने रु भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !