३० कार्तिक २०८१, शुक्रबार

रुग्ण उद्योग सञ्चालनका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको छुः मन्त्री भण्डारी

प्रकाशित मिति :  14 June, 2024 7:12 am


काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन्।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले रुग्ण उद्योगहरु सञ्चालनको लागि आवश्यक गृहकार्य गरिरहेको बताए।

उनले रुग्ण उद्योगहरु सञ्चालनका लागि आएका अध्ययन प्रतिवेदनहरु अध्ययन गरिरहेको जानकारी गराउँदै सबै उद्योगहरु एकै पटक सञ्चालन गर्ने आधारहरु नबन्ने जनाए।

मन्त्री भण्डारीले रुग्ण रहेका उद्योगलाई प्राथमिकताका आधारमा वर्तमान अवस्थामा सबै भन्दा पहिला कुन उद्योगलाई सञ्चालन गर्ने भन्ने विषयमा पनि आवश्यक तयारी गरेको बताएका हुन्।

उनले बिहीवार मात्रै प्रधानमन्त्रीसहित सम्बन्धित निकायहरुसँग रुग्ण उद्योग सञ्चालनको मोडालिटीका बारेमा जानकारी गराइएको बताए।

सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका गोरखकाली रवर उद्योग, बुटवल धागो र हेटौडा कपडा उद्योग लगायतका उद्योगलाई पहिलो चरणमा सञ्चालन गर्ने गरी तयारीका चरणहरुमा छलफल र अध्ययन जारी राखेको जानकारी गराए।

मन्त्रालय सम्हालेको एक सय दिनमा मन्त्रालयले नवप्रवर्तनकारी एवं सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको भण्डारीको भनाइ छ ।

उनले नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ वटा कानून समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा गरिएको, विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको र उहाँले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ संशोधन गरिएको जानकारी गराए।

यसबिच स्टाण्डर्ड नाप र तौल नियमावली, २०८० स्वीकृत भएको र द्विपक्षीय लगानी सम्झौताको नमूना ढाँचा स्वीकृत गरिएको जानकारी दिए ।

नेपाली उत्पादन र उपभोग अभिवृद्धि गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए।

भूकम्पीय जोखिम न्युनिकरण गर्ने उद्देश्यले नेपाल सरकार र चीन सरकारबिच हुने समझदारी पत्र स्वीकृत गरिएको र स्थानीय मदिराको ब्राण्डिङ्ग र प्रवद्र्धन गर्न अध्ययन प्रतिवेदन तयार गरिएको लगायतका उपलब्धी सय दिनमा हासिल भएको मन्त्री भण्डारीको भनाइ छ ।

भण्डारीले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न १८३ वटा प्रश्ताव छनौट गरी सिफारिस गरिएको भन्दै स्टार्टअपलाई सहयोग पुर¥याउन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा बिजनेस इन्क्यूवेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी गराए।

उनले सय दिनमा मन्त्रालयबाट विभिन्न कार्यविधि तथा कानूनसहित ८८ वटा काम गरेको उल्लेख गबताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !