२३ भाद्र २०८१, आइतबार

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण: मन्त्री शर्मा

प्रकाशित मिति :  14 June, 2024 1:01 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबिच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरू हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिंदै मन्त्री शर्माले यसलाई प्रभावकारी रूपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्यक्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिंदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताइन् ।

“नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, उर्जा र औद्योगिकको रूपमा लिंदै आएका थियौं’– उृनले भनिन्, “अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो ।”

राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताए ।

नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उनले भने,”हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौं ।”

नेपालका अधिकारीहरू बैङ्लोर दिल्ली लगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्नसक्ने उल्लेख गर्दै उहाँले यसमा सहजीकरण गर्न आफूहरू तयार रहेको बताए। गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरुले गरेको प्रतिबद्धताअनुसार भारतमा बस्ने नेपालीहरुका लागि मोबाइल सिम वितरण सहज गराइएको जानकारी दिंदै राजदूत श्रीवास्तवले व्याण्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !