सरकारसँग एमाले नेता ओलीको असन्तुष्टी, भन्छन्, ‘देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने?’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।
शनिवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन्।
एक÷दुई जनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने जनाउँदै उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताए।
ओलीले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गर्दै ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिने बताए।
नेता ओलीले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताए।
स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने चर्चा गर्दै उनले प्रतिक्रियावादीहरुले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए।
ओलीले भने, “हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने । हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति? त्यसमा कस्तो छ त्यसको विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ । यि सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस् ।”
ओलीले यी विषयहरु बाहिर बजारमा फिँजाउने कुरा नभएको बताएका छन् । उनले भने, “बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ ।”
अध्यक्ष ओलीले नेकपा एमालेका बिरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको जिकिर गर्दै नेकपा एमाले देश बाउने संकल्प, दृढता र अठोटमा रहेको बताए।
—न्युज एजेन्सी नेपाल