बालेनको चेतावनी: कांग्रेस र एमालेको धङधङी बोकेर नआउनू
काठमाडाैँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् । आर्थिक वर्ष २०८१र\०८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।
मेयर शाहले काठमाडौँ महानगरपालिकाको नगरसभामा नेपाली कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिए।
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने उल्लेख गरे। “काठमाडाैँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन”, उनले फेसबुकमा लेखेका छन्, “जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।”
बन्द कोठामा केही नेताले राजनीतिक लेनदेनमा सहमति गर्ने र सार्वजनिक रूपमा त्यसलाई औपचारिकता दिने काम काठमाडौं महानगरमा नहुने उनको भनाइ छ। “नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ बालेनले लेखेका छन्, “बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन ।”