आज बकर इद, सार्वजनिक बिदा, उच्च पदस्थबाट शुभकामना
प्रकाशित मिति : 17 June, 2024 8:24 am
काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) मनाइँदै छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
सभामुख देवराज घिमिरेले पर्व बकर इदको अवसरमा शुभकामना सन्देश दिँदै विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचान रहेको चर्चा गर्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताएका छन्।
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना व्यक्त गर्दै सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बकर इदको शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बक्र ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् ।