स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम, ५६ करोडको बजेट ल्याउने तयारी
शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता
काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। हिजो (सोमबार) पालिकाको १५ औं गाउँ सभामा पालिका प्रमुख प्रकाश तिवारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा शिक्षालाई विशेष प्राथमिकता दिइएको छ। पालिकाले शिक्षाको गुणस्तर वृद्धि एवं विद्यार्थीको सर्वाङ्गीण विकास गर्न आगामी वर्षलाई शिक्षा सुधारको स्वर्ण वर्षको रूपमा आगाडी बढाउने भएको छ। शैक्षिक सुधार विरोधि गतिविधिमा शुन्य सहनशिलताको निति अवलम्वन गरिने र पालिका भित्र शैक्षिक पूर्वाधारहरूमा लगानी बढाउँदै सम्पूर्ण विद्यार्थीलाई सुदृढ वातावरणमा पठनपाठन गर्ने व्यवस्था गरिने पालिका प्रमुख तिवारीले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
यसैगरी पालिकाका सबै विद्यालयहरूको अध्ययन र अध्यापनको सिकाइको केन्द्र बनाउन पालिकाको एक विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाइने भएको छ।
शिक्षाको गुणस्तर बढाउन “म जिम्मेवार शिक्षक” को नारा सहित विभिन्न तहमा शिक्षण सिप र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै गाउँपालिकाका सबै माध्यमिक विद्यालयहरूमा विद्युतीय हाजिरीको व्यवस्था गरिने नीति तथा कार्यक्रमा उल्लेख गरिएकाे छ ।
नागरिकको स्वास्थ्य सेवाको पहुँच र दायरा विस्तार गर्न “नागरिकलाई टेवा, टोलटोलमा स्वास्थ्य सेवा” कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गरिने भएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूको पूर्वाधारहरू व्यवस्थित एवं थप गरिनेछ। विद्यार्थीहरूको स्वास्थ्य र सरसफाईको नियमित जाँच गर्न ‘विद्यालय स्वास्थ्य कार्यक्रम” सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । बालबालिकाको हुर्किने बेलामा आवश्यक पोषणको उपलब्धताको सुनिश्चितता गर्न पोषण तथा खाद्य सुरक्षा कार्यक्रम पालिकाले आफ्नै स्रोतले निरन्तरता दिनेछ। पोषण सम्बन्धी जनचेतनाका कार्यक्रमहरूलाई अभियानका रूपमा अगाडि बढाइनेछ।
गाउँपालिकाको नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका उपयुक्त स्वास्थ्य संस्था वा अस्पतालको बारेमा सुसूचित गर्न स्वास्थ्य सहायता व्यक्ती नियुक्ती गरिने बताइएको छ। सबैको पहुँच सुनिश्चित गर्न आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूलाई सेवा प्रवाह र कार्यक्षमताको आधारमा मूल्याङ्कन गरी प्रोत्साहन गर्दै लागिने नीति अवलम्बन गरिनेछ। योग र ध्यानका बारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
पालिकाले हरेक वडा कार्यालयसम्म पक्की सडक पुर्याउने नीति अनुरुप वडा नम्बर ३ मा पुर्याएको पालिकाले आगामी आर्थिक वर्षमा वडा नम्बर २ र वडा नम्बर ४ लाई कालोपत्रे सडकले जोड्ने छ ।
मुख्य सडकदेखि वडा कार्यालय, स्वास्थ्य संस्था र बिद्यालयहरूको पहुँच मार्ग सहज बनाउन सहायक सडकहरूको स्तरोन्नति गरिनेछ भने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समेटिएको छ ।
सार्वजनिक जग्गा एवम् सम्पत्ति संरक्षणका लागि आवश्यक कानुनको निर्माण गर्ने र पालिकामा विद्युतीय प्रणाली (कियुआर) कोड मार्फत राजस्व भुक्तानीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बसाइँसराइ रोक्न र गाउँमै रोजगारी सृजना गर्न पालिकाले पक्की सडक पूर्वाधारको विकास, पर्यटकीय सम्पदाहरूको पहिचान, विकास र संरक्षण व्यवसायिक सुन्तला खेती, औधोगिक ग्राम संचालन लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिकाले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आर्थिक वर्ष २०८१\८२ लाई ५६ करोड ६० लाख ७५ हजार बजेट विनियोजन गरेकाे छ ।