सवारी मर्मतमा स्याङ्जाको अर्जुनचौपारीले गर्यो ६ लाखभन्दा बढी खर्च
अध्यक्ष तिवारी भन्छन्, 'नयाँ खरिद गर्न बजेट थिएन्'
काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले कार्यालयले प्रयोग गर्ने सवारी साधनको मर्मत सम्भारमा ६ लाखभन्दा बढी रकम खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८१ मा पालिकाले सरकारी नम्बर प्लेटको ग १ झ ३०० नम्बरको सवारी साधनकाे वार्षिक मर्मत सम्भार शीर्षकमा ६ लाख ३१ हजार ९०४ रुपैँया खर्च गरेको हो।
पूरानो सवारी साधनलाई ठूलो रकम मर्मतका लागि खर्च नगरेर बजेट विनियोजन गरेर नयाँ सवारी साधन खरिदमा जोड दिन महालेखाले निर्देशन समेत दिएको छ ।
प्रतिवेदनमा भनिएकाे छ,”सवारी साधन लगायताका जिन्सी सम्पत्तिको प्रयोग गर्दा सञ्चालन खर्च अत्याधिक भएको अवस्थामा समयमा खर्च नियन्त्रणका वैकल्पिक उपायहरु पहिचान गरी नयाँ सवारी खरिद गर्ने वा चालु सवारी साधन नै प्रयोग गर्ने सम्बन्धमा समयमै उचित निर्णय लिनुपर्छ ।”
सोही विषयमा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकासँग नयाँ सवारी किन्ने बजेट नभएकाले त्यसलाई मर्मत सम्भार गरेर चलाउने निर्णय भएकाले उक्त खर्च देखिएको बताए । उनले भने, “पालिकासँग नयाँ सवारी किन्नको लागि बजेट विनियोजन गरिएको थिएन । इन्जिनमा खराबी आएको थियो र त्यसलाई मर्मत गर्दा उक्त खर्च लेखिएकाे हो ।”