संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ
काठमाडाैँ । संघीय संसद सचिवालयका कर्मचारीहरूले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै बिरोध गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर बिरोध जनाएका थिए । उनीहरूले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।
संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने माग गरे ।
संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमवार कर्मचारीहरूसँग छलफल गरेका थिए ।