९ मंसिर २०८१, आइतबार

रोल्पा बालकल्याण नमुना माविको क्यानटिन निर्माणमा अनियमितता,एउटै भवन‘दुई पटक निर्माण’काे कागज

नगरप्रमुख घर्ती भन्छन्,'याे विषयमा मलाइ अवगत छैन'
प्रकाशित मिति :  19 June, 2024 7:09 am


काठमाडौँ । रोल्पाको बालकल्याण नुमना मा.वि.को क्यानटिन भवन निर्माणमा अनियमितता भएको देखिएको छ । क्यानटिन भवन निर्माणमा १३ लाख रुपैयाँ भन्दा बढी अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा बालकल्याण नमुना माविको क्यानटिन भवन निर्माण गर्न रोल्पा नगरपालिकाका लागि संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमको तर्फबाट ५० लाख रुपैयाँ रहेको थियो । बाेलपत्रको माध्यमबाट सो भवन निर्माणको ठेक्का रु. ३४ लाख ६५ हजार ७ सय ४४ मा सम्पन्न गर्ने गरी देविशेष तारा निर्माण सेवाले स्वीकार गरेर निर्माण कार्य सम्पन्न गरेको थियो ।

स्वीकृत कार्यक्रम भित्र नियम अनुसार निर्माण कार्य सम्पन्न भएपछि बाँकी रकम संघीय संचित कोष फिर्ता गर्नुपर्थ्याे तर पालिकाले भने आर्थिक वर्षको अन्त्यमा सोही निर्माण कम्पनीसँग ८ लाख १३ हजार ५ सय ९१ र आर.वी. टी. जलवला कन्स्ट्रक्सन एण्ड सप्लार्यसँग ५ लाख ४६ हजार ५ सय रुपैयाँको सम्झौता सोही क्यानटिन निर्माण गरेको खुलेको छ ।

सो विषयमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले आफूलाई उक्त विषयमा केही कुरा पनि अवगत नभएकाले नबोल्ने बताए । उनले भने, “मलाई यस विषयमा अवगत गराउनु भयो के रहेछ म बुझेर भन्छु ।’’

विद्यालयको क्यान्टिन भवन निर्माणको लागत अनुमान तयार गरी सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ वमोजिम निर्माण कार्य सम्पन्न भइसकेपछि पनि बचत भएको रकम खर्च गर्ने मनासयका साथ १३ लाख ६० हजार ९१ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार एउटै क्यानटिनको भवन दुई पटक निर्माण भएको देखाइएको छ ।

विद्यालय व्यवस्थापन समितिले पनि भवन निर्माणमा भएकाे अनियमितताबारे अनविज्ञता जनाएकाे छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर डाङ्गीले विद्यालयलाई माथिबाट पैसा आएको र निर्माणको कार्य भएको विषयमात्र थाहा भएको बताए । उनले आफूलाई विद्यालयमा निर्माण कार्य हुँदा कति अनियमिता भयो भन्ने कुराको अवगत नभएको समेत दाबी गरे । उनले भने, “विद्यालयलाई माथिबाट पैसा आएको छ काम भएको छ भन्ने थाहा थियाे । बाँकी सबै पालिका मार्फत भएकाले त्यो विद्यालयलाई के के अनियमिता भयो भन्ने थाहा भएन।’’

अध्यक्ष डाँगीले पछि भने महालेखाले टिप्पणी छोडेको भन्दै फोन गरे । लुम्बिनी सञ्चारले महालेखाको टिप्पणी उपलब्ध गराउन आग्रह गर्दा भने उनले दिएनन् । महालेखाको टिम्प्पणी भए उपलब्ध गराउन आग्रह गर्दा भने, “त्यस्तो केही होइन, राम्रो स्कुल राम्रो स्कुल हो ।”

राेल्पा नगरपालिकाका प्रमुख घर्तीले निर्माण कार्यमा अनियमितताकाे सम्भावना नभएकाे तर्क गरे । उनले यदि अनियमितता भएको कुरा पुष्टि भए असुल उपर गर्ने आश्वसन दिए । उनले यसबारे थप सूचना अधिकारी सुशीलकुमार थापालाई बुझ्न आग्रह गरे ।

सूचना अधिकारी थापाले पनि यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने,“यस विषयमा मलाई पनि अवगत भएन।”



प्रतिक्रिया दिनुहोस !