बुधवार कहाँ कहाँ भारी वर्षाको सम्भावना छ?
काठमाडौँ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
बुधवार बिहानीपख कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । वर्षा हुन सक्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न अनुरोध गरिएको छ ।
यी क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।