२३ भाद्र २०८१, आइतबार

सहकारी महासंघले असार ७ गतेदेखि ‘प्रथम सहकारी रोजगार मेला’ गर्ने

प्रकाशित मिति :  19 June, 2024 5:42 pm


काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला-२०८१ आयोजना गर्ने भएको छ ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताएकी छन् ।

उनले दिनप्रतिदिन युवाहरू विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरूलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताइन् । अध्यक्ष मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताइन् ।

अहिले ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योदान गर्ने महासंघकाे विश्वास छ ।

मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य समेत हुने महासंघले जनाएकाे छ । सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !