४ आश्विन २०८१, शुक्रबार

नीति तथा कार्यक्रम:वर्तमान सरकारको कार्यकालमै विकासशील राष्ट्रको पंक्तिमा,बेरोजगारलाई देश निर्माणमा परिचालन

प्रकाशित मिति :  15 May, 2020 5:39 pm


काठमाडाैं, २ जेठ ।

सरकारले आगामी २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएका मुलुकमा स्तरोन्नति गर्न दृढ रहेको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८७ अगावै दीगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यमा सरकार दृढ रहेको उल्लेख गरिन् ।

वर्तमान सरकारको कार्यकालमा नै विकासशील राष्ट्रको पंक्तिमा र विक्रम संवत् २०९९ सालसम्ममा नेपालीलाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अघि बढाइएको सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।

समाजमा कोही पनि पछि नपरून् भन्नेमा यो सरकार संवेदनशील छ रहेको भन्दै २ वर्षको अवधिमा शहरहरू सडक बालबालिका र सडक मानवमुक्त भएका छन्, मगन्ते रहित भएको नीति तथा कार्यक्रममा उल्लेख छ । शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीलाई सभ्यताको एकस्तर माथि उठाउने कार्यमा लक्षिण एसियामा नेपाललाई पहिलो हुने सफलता मिलेको नीति तथा कार्यक्रममा दाबी गरिएको छ ।

सरकारले बेरोजगारलाई देश निर्माणमा परिचालन गर्ने नीति लिएको छ । स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा गएका फर्कने परिस्थितिले बेरोजगारको संख्या बढ्ने देखिएको भन्दै सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,‘बेरोजगारलाई देश निर्माणका लागि परिचालन गरिने छ ।’

आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गर्ने र वैदेशिक रोजगारबाट फर्केकालाई उद्यम शुरू गर्न शुरूवाति पूँजी उपलब्ध गराइने राष्ट्रपति भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षित बेरोजगार युवाहरूलाई शैक्षिक प्रमाणपत्रको आधारमा शुरूवाती पूँजी उपलब्ध गराई शिक्षासँग सम्बन्धित व्यवसाय शुरू गर्न प्रोजेक्ट निर्माणमा उत्प्रेरित गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !