८ माघ २०८१, मंगलबार

स्याङ्जाको भीरकोटमा साउनदेखि प्लास्टिक झोला बोक्न नपाइने

प्रकाशित मिति :  20 June, 2024 11:02 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा साउनदेखि प्लास्टिक झोला बोक्न नपाइने भएकाे छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरू गरेकाे हाे ।

साउन १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य झोला बोक्न बनाउने र प्लास्टिकजन्य पदार्थबाट प्याकिङ भएका सामग्रीलाई पनि कपडाको झोलामा बोक्नु पर्नेछ ।

नगरपालिकाले प्लास्टिकजन्य फोहरमैला न्यूनीकरण गर्न १३ हजार थान कपडाको झोला निःशुल्क वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले असार मसान्तभित्र नगरपालिकामा रहेका सबै घरधुरीमा दुई–दुई वटाका दरले नगरपालिकाको लोगोसहित झोला वितरण गरिने बताए ।

कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै पालिकाले २० जना महिला उद्यमीलाई एक हप्ते झोला सिलाउने तालिम दिएको थियाे ।तालिम लिएका महिलाबाट वितरण गर्ने झोला सिलाएको बताउँदै ढुङ्गानाले उत्पादन गरेका सपिङका झोला पालिकाभित्रका पसलबाट बिक्री गरिने बताए ।

सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त भीरकोट कार्यक्रम सञ्चालन गर्न पालिकाले ३५ लाख ७६ हजार र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !