बजेटमा अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री दाहाल
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताएका हुन् । उनले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रूपान्तरण गर्न नसकेको बताए ।
उनले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोशिस गरिएको बताए ।
“बजेट विनियोजन गर्दा बहुवर्षिय स्रोत, सहमती दिइएका आयोजना, आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजना, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने आयोजना, क्रमागत रुपमा रहेका आयोजना तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने कार्यक्रमका प्राथमिकतापूर्वक अनिवार्य रूपमा बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ,” उनले भने ।
प्रधानमन्त्री दाहालले थारु लगायत आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताए ।