अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालन हुन्छन्ः प्रधानमन्त्री दाहाल
काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनका लागि सुझाव पेश गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताएका हुन् ।
उनले सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य भइरहेको छ । अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका साथै अन्य विषयमा पनि चासो व्यक्त गरेकाले ति विषयहरूमा छलफल र समन्वय भइरहेको छ ।”
उनले अन्तर्राष्ट्रिय वायु सेवाहरुले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरुसँग पनि छलफल भइरहेको बताए ।