१८ असार २०८१, सोमबार

तेस्रो एनओसी अवार्ड आईतवार हुने

प्रकाशित मिति :  21 June, 2024 8:56 am


काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार ९ गते आईतवार गर्ने भएको छ ।

विश्वभर ओलम्पिक डे जुन २३ मा मनाइन्छ । सोही दिनको अवसर पारेर अवार्ड कार्यक्रम हुने भएको हो । तेस्रो संस्करणको एनओसी अवार्डमा ११ विधामा अवार्ड प्रदान गरिने अवार्ड कमिटीका अध्यक्ष गोपालसुन्दर कक्षपतीले बताउनु भयो ।

एनओसी अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पारा खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक र उत्कृष्ट खेल संघलाई प्रदान गरिनेछ । सञ्चारमाध्यमतर्फ छापा, अनलाइन, फोटो र भिडियो गरी चार विधामा अवार्ड प्रदान गरिनेछ ।

एक खेलकर्मीलाई एनओसी प्रेसिडेन्टल अवार्ड प्रदान गरिने कक्षपतिले बताए । हरेक विधामा अवार्ड प्राप्त गर्नेलाई ५० हजार प्रदान गरिने जनाइएको छ । एनओसीमा आबद्ध २७ मध्ये २५ खेल संघले एनओसी अवार्डका लागि आवेदन दिएको र त्यसबाट जुरी कमिटीले विजेता छान्नेछ ।

कमिटीका उपाध्यक्ष ज्योति राणाको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्तिव रहेको ८ सदस्यीय जुरी कमिटी बनाइएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भनेर सन् २०२२ मा एनओसी अवार्ड सुरु गरिएको जानकारी गराए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !