२ कार्तिक २०८१, शुक्रबार

स्याङ्जाको आँधीखोला गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम, कृषि क्षेत्रलाई प्रथामिकता

प्रकाशित मिति :  21 June, 2024 11:05 am


काठमाडौँ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार गाउँपालिकामा आयोजित पन्ध्रौं गाउँसभामा पालिका प्रमुख विश्वनाथ पौडलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

स्थायी रूपमा आँधीखोला भन्दा बाहिर रहेर पनि आफ्नो पुर्खौली जन्मथलोमा बहुवर्षिय फलफूल खेती गर्न चाहे कृषकहरूको लागि विशेष ‘गाउँ फर्क कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । त्यस्तै स्थानीय कृषि उत्पादनको प्रमाणिकरण एवं ब्राण्डिङ गर्ने भएको छ। पालिकाले यस वर्ष कृषिलाई विशेष प्राथमिकता दिइएको छ।

नीति तथा कार्यक्रममा पालिकाले प्राङ्गारिक कृषि उत्पादन र उपयोगलाई प्रवर्द्धन गर्न प्राङ्गारीक कृषि उत्पादनको प्रमाणीकरण तथा ब्राण्डिङ गरिने उल्लेख छ। पालिकाले अकबरे खुर्सानी, केरा, कुरीलो, सुन्तला, किवि, सिप्लिकान, कफि, कागती लगायतका बजारमा माग बढी भएका तरकारी तथा फलफूलको व्यवसायिक उत्पादन र ब्राण्डिङमा जोड दिएको छ।

“व्यावसायिक कृषि, सम्मानित पेशा” भने नाराका साथ कृषिमा आधारित उद्यम र उद्यमशिलताको प्रवर्द्धन गर्न “कृषक पुरस्कार” कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषकको खेत बारीमा उब्जेका कृषि उपजहरूलाई हरेक वडामा संकलन केन्द्र बनाई सहकारीसँगको साझेदारीमा बजारीकरणको व्यवस्था समेत पालिकाले गरिदिने भएको छ।

किसानको प्रमुख समस्याको रूपमा रहेको बाँदर नियन्त्रण कार्यलाई विशेष प्राथमिकताका साथ सम्भावित प्रयासहरू गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

समग्रमा हेर्दा आँधिखोलाको नीति तथा कार्यक्रममा कृषक मैत्री देखिएको छ। नीति तथा कार्यक्रममा पूमुख पर्यटकीय क्षेत्रहरुसम्म पुग्न सकिने पर्यटन मार्गहरूको निर्माण तथा ऐतिहासिक र परम्परागत रूपमा रहेका मठ, मन्दिर, गुफा, कोट लगायतका सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ ।

आर्थिक विकासको मुख्य आधारको रूपमा पालिकाले कृषिलाई लिइएको छ। कृषि, पशुपालन, सिंचाई , माटो सुधार,फलफल तथा तरकारीको व्यवसायिक उत्पादनमा , कृषक पुरस्कार , रैथाने बालीको उपयोग र संरक्षण, घरघरमै कृषि सेवा, निशुल्क बाली बिमा , हाइटेक नर्सरीको स्थापना, यान्त्रीकरणलाई प्राथमिकता दिइएको छ।



प्रतिक्रिया दिनुहोस !