१४ पुस २०८१, आइतबार

सामाजिक रूपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

प्रकाशित मिति :  21 June, 2024 7:05 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरूलाई आग्रह गरेकी छन् ।

चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरू भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रूपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

“हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरूमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन्”, उनले भनिन्, “हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ ।”

विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रूपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उनले जोड दिइन् ।

बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताइन् ।

नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उनले स्पष्ट गरिन् ।



प्रतिक्रिया दिनुहोस !