२ कार्तिक २०८१, शुक्रबार

स्याङ्जाको भीरकोट नगरपालिकाले ल्यायो ७८ करोडको बजेट (पूर्णपाठसहित)

प्रकाशित मिति :  23 June, 2024 11:00 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८१\०८२ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । हिजा (शनिवार) १४ औं नगर सभाले आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७८ करोड २६ लाख २० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो ।

नगर उपप्रमुख भगवती रेग्मी अर्यालले आर्थिक वर्ष २०८१\०८२ का लागि चालूतर्फ ५९ करोड ८९ लाख ७० हजार रूपैयाँ र पुँजिगततर्फ १८ करोड ३६ लाख ५० हजार रुपैँया रुपैँयाको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन । बजेटमा सामाजिक सुरक्षामा १८ करोड खर्च हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१\०८२ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको मौज्दातबाट १ करोड २० लाख, आन्तरिक राजस्वबाट ४ करोड १७ लाख ७० हजार १७० रुपैँया, संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० करोड ४७ लाख १५ हजार ८७० रुपैँया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ४३ करोड ५१ लाख ३४ हजार रुपैँया र आन्तरिक स्रोतबाट ९० लाख रुपैँया हुने अनुमान उपप्रमुख अर्यालद्धारा सार्वजानिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा वडाहरूको भवन निर्माण गर्ने, ग्रामिण सडकलाई बाह्रै महिना संचालन गर्न मर्मतसंभार तथा सडक सरसफाई गर्ने, सिसौघारीमा रहेको खेलमैदानको विस्तार गरी खुल्ला व्यायमशालाको निर्माण गर्ने, खानेपानीको सहज पहुँच पु¥याउने, भीरकोट पार्कमा रहेको तालको मध्य मागमा मन्दिर निर्माण गर्ने, कृषिमा अनुदान, पशुपालनमा अनुदान सुत्केरी भैँसीलाई भत्ता दिइने जस्ता कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी रणनीतिक महत्त्वका सडक मध्ये बानेथोक बयरघारी बिरुवा सडक स्तरोन्नतिको लागि संघ तथा प्रदेश सरकारको समन्वयमा बजेट विनियोजन गरिने उल्लेख छ। बयरघारी ठूली भञ्ज्याङ सडकको लागि २ करोड ८० लाख विनियोजन गरिएको छ भने सुन्दरबजार स्वरेक मैदान सडकका लागि १ करोड विनियोजन गरिएको छ।

ग्रामीण सडकहरूको नियमित सरसफाइको लागि वडा नम्बर ३ र ८ को लागि १०\१० लाख र अन्य वडाको लागि ५\५ लाखका दरले जम्मा ५९ लाख विनियोजन गरिएको छ। बयरघारी देखि खिलुङ् देउराली स्वास्थ्य चौकी सम्मको १.५ किमी सडक र ढापुक फेदी देखि ८ नम्बर वडा कार्यालय सम्मको २ सय मिटर सडक कालोपत्रे गर्न सघन सहरी विकास कार्यान्वयन इकाइ पोखरासँगको सहकार्य र समन्वयमा काम गरिने उल्लेख छ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलीरहेको भीरकोट पार्कको स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। पार्क परिसरमा आगामी वर्ष ताल र तालको बिचमा मन्दिर निर्माण गर्नका लागि सो रकम विनियोजन गरिएको हो। फोहरमैला व्यवस्थापन केन्द्र, खेलमैदान र भीरकोट पार्कको विस्तारका लागि जग्गा खरिद गर्न ५० लाख विनियोजन गरिएको छ।

गाईं तथा भैसीपालन व्यवसायमा संलग्न कृषकलाई प्रोत्साहन गरी दुग्ध उत्पादनमा उत्पादित परिमाणको आधारमा कार्यपालिका बैठकको निर्णय अनुसार गाईरभैसीको दुधमा अनुदान दिन र भैसीपालक किसानहरूलाई थप प्रोत्साहन गरी प्रत्येक सुत्केरी भैसी बराबर रु. ३ हजार अनुदान दिने कार्यका लागि एकमुष्ठ रु. १० लाख विनियोजन गरिएको छ। दूध ढुवानीका लागि दुग्ध उत्पादक सहकारीलाई अनुदान दिन ७ लाख २० हजार विनियोजन गरिएको छ।

भीरकोटमा चालू वर्षको जेष्ठ मसान्तसम्म २ किलोमिटर १९५ मिटर कच्ची सडकलाई कालोपत्र गरेको, १५ किलोमिटर कच्ची सडकलाई पिसिसि ढलान गरेको र ६ किलोमिटर ७०० मिटर नयाँ सडकको ट्रयाक खोलिएको छ ।



प्रतिक्रिया दिनुहोस !