२३ भाद्र २०८१, आइतबार

राप्ती गाउँपालिकाको आगामी बजेट ६८ करोड; शिक्षा, स्वास्थ्य, कृषि, श्रम र उद्यमशिलता प्राथमिकतामा

प्रकाशित मिति :  24 June, 2024 8:15 am


देउखुरी । लुम्बिनी प्रदेशको राजधानीसमेत अवस्थित दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी मुल नाराकासाथ आइतवार गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गरेकी हुन्।

पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, श्रम र उद्यमशिलतामा जोड दिएको छ । चालू आर्थिक वर्षमा ६५ करोड ७६ लाख बजेट रहेकोमा आगामी वर्षका लागि २ करोड ८३ लाख बजेट बढी विनियोजन गरिएको हो ।

आगामी आवका लागि चालु तर्फ ३० करोड ६७ लाख २४ हजार र पुँजीगत ३७ करोड ५ लाख ५० हजार बजेट विनियोजन गरिएको हो ।

शिक्षा, युवा तथा खेलकुद तर्फ संघीय ससर्त अनुदान १६ करोड ४७ लाख ३९ हजार, संघीय सरकारको बिशेष अनुदान १ करोड ५० लाख, गाउँपालिका तर्फ ६ करोड ४७ लाख गरी कुल २४ करोड ४४ लाख २९ हजार रहेको छ ।

स्वास्थ्यतर्फ संघीय ससर्त अनुदान २ करोड ४० लाख २५ हजार, गाउँपालिका तर्फ ३ करोड ८५ लाख गरी कुल ६ करोड २५ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।

कृषि तर्फ संघीय ससर्त अनुदान ६६ लाख १ हजार, प्रदेश ससर्त अनुदान १ करोड ३५ लाख, गाउँपालिकाको ४ लाख ५ हजार गरी कुल २ करोड ५ लाख ६ हजार बजेट विनियोजन गरिएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम तर्फ संघीय सरकार ससर्त अनुदान १७ लाख ९७ हजार, प्रदेश सरकारको ससर्त अनुदान १० लाख र गाउँपालिकाबाट ५८ लाख ५० हजार गरी कुल ८६ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

श्रम, रोजगार तथा उद्यमशीलता तर्फ ५० लाख, संघ, प्रदेश र गाउँपालिकाबाट भौतिक पूर्वाधार तर्फ ११ करोड, ४४ लाख ३ हजार, वन वातावरण तथा विपद तर्फ ४४ लाख, खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन तर्फ ७० लाख, कला संस्कृति तथा पर्यटन तर्फ २८ लाख विनियाेजन गरिएकाे छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ५२ लाख ५० हजार, संस्थागत, सुशासन र संस्थागत व्यवस्थापन तथा सेवा प्रवाह तर्फ १ करोड ३३ लाख बजेट विनियोजन गरिएको पालिकाका प्रवक्ता पहलवान चौधरीले बताए।

गाउँपालिकाले आगामी आव २०८१/०८२ का लागि वडागत बजेट समेत विनियोजन गरेको छ । जस अनुसार वडा नम्बर १ मा ६५ लाख ११ हजार, वडा नम्बर २ मा ९५ लाख, वडा नम्बर ३ मा ६६ लाख ९६ हजार, वडा नम्बर ४ मा ६४ लाख ५१ हजार ,वडा नम्बर ५ मा ६५ लाख ६८ हजार बजेट बिनियोजन छ।

वडा नम्बर ६ मा ६४ लाख ३१ हजार, वडा नम्बर ७ मा ६३ लाख २४ हजार, वडा नम्बर ८ मा ६३ लाख ५६ हजार र वडा नम्बर ९ मा ६५ लाख १३ हजार बजेट विनियोजन गरिएको गरिएको छ।

सभामा गाउँसभाका सदस्य रिम बहादुर सुनारी मगरले विनियोजन विधेयक २०८१ र सभा सदस्य गेमे खड्‌काले आर्थिक विधेयक २०८१ प्रस्तुत गरेका थिए।

सभाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती गाउँपालिकाको विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !