१६ असार २०८१, शनिबार

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

प्रकाशित मिति :  26 June, 2024 4:57 pm


काठमाडौँ । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । कांग्रेसले अगामी असार १८ मा फोटो प्रदर्शनी गर्ने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो । ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरू रहने केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालीन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरू राखिने उनले बताए । नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला लगायतका नेपाली कांग्रेसका नेताहरूले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उनले बताए ।

उनले पार्टीको केन्द्रीय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न पार्टीको अध्यक्ष तथा शीर्ष नेताहरूदेखि कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई पनि निमन्त्रणा गरिएको जानकारी दिए । बिहान ११ बजेदेखि सरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उनले बताए ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उनले जानकारी दिए । क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !