२३ भाद्र २०८१, आइतबार

देशभर ९ प्रतिशत रोपाइँ सकियो, चितवनमा राष्ट्रिय धान दिवस मनाइने

प्रकाशित मिति :  27 June, 2024 2:40 pm


काठमाडौं । सरकारले यस वर्षको २१ औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते शनिबार चितवनको बछौलीमा औपचारिक रूपमा मनाउने भएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” नाराका साथ चितवनको अलवा लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि विभागले जनाएको छ।

विभागले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषि मन्त्री ज्वाला कुमारी शाहको उपस्थितिमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइने कार्यक्रम रहेको जनाएको छ।

धानमा अन्तर्निहित विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको विभागका महानिर्देशक डा नरहरि प्रसाद घिमिरेले जानकारी दिए ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको प्रमुख आतिथ्यतामा आईआरआरआई र बिआरआरआई का प्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन गर्ने विभागले जनाएको छ ।

विभागका अनुसार असार १२ गतेसम्म सातै प्रदेशमा ९.८ प्रतिशत धान रोपाइँ भएको छ । जसमा कोशीमा ५.६, मधेस २.९, बागमतीमा १८.३, गण्डकीमा ८.३, लुम्बिनीमा ८.८, कर्णालीमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत धान रोपाइँ भएको विभागले जनाएको छ । यस वर्ष कुल १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !