२० असार २०८१, बुधबार

पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडरको घोषणा

प्रकाशित मिति :  1 July, 2024 4:51 pm


काठमाडाैँ । तेस्रो कृषि–जलावायु युवा लिडरसिप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेको छ ।

इको लिडरले वर्षभरि हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरू सञ्चालन गर्नेछन् । सबै इको लिडरलाई समेटेर आइतबार १०० युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए । उक्त नेटवर्कमा देभरिबाट २५ वर्षमुनिका युवाहरू छनोट गरिएको अवस्थीले बताए । उनले देशभरिबाट प्राप्त ५०० आवेदकमध्येबाट छानिएको बताएका छन् ।

समिटले १०० युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहितासमेत पारित गरेको आयोजकले जानकारी दिएको छ ।

इको लिडरले संकल्पपत्रमा हस्ताक्षर तथा औँठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तनसम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोहीअनुसार गर्ने संकल्प गरेका छन् ।

सम्मेलन उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गरेका थिए । उनले नेपाल सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बागमती प्रदेश युवा परिषद्‌का उपाध्यक्ष, द एशिया फाउन्डेसनका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समिटमा तीनवटा फरक फरक विषयमा कार्यपत्रहरू पेस गरिएको थियो, जसमा महर्षि वैदिक इन्टरनेसनल फाउन्डेनसबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीका बारेमा प्रस्तुत गरेका थिए ।

समिटको अर्को दिन छानिएका १० वटा कृषि, जलवायु परिवतनसँग जोडिएका नवीन विचारहरू छनोट गरी प्रत्येक युवालाई जनही १० हजार दिने घोषणासमेत गरिएको आयोजक सरोजकुमार जोशीले बताए । डा चिन्तमणि योगीले युवालाई जीवन जिउने शैली र युवाको सकारात्मक धारणा विकाससम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

१० बुँदे जलवायु परिवर्तन संकल्पपत्र जारी

चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि–जलवायु युवा लिडरसिप समिटले हरित कृषि तथा जलवायु परिवर्तनसम्बन्धी १० बुँदे संकल्पपत्र जारी गरेको छ । समिटको संकल्पपत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिए ।

संकल्पपत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनीकरण तथा रैथाने कृषिको संरक्षणमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् । सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना तथा निर्माणकार्यले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेटमध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुट्याउन पनि माग गरेका छन् ।

समिट १३ देखि १५ असार २०८१ सम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एसिया फाउन्डेसन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपालसहितका सहकार्य तथा साझेदारी रहेको आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !