२१ असार २०८१, बिहिबार

कोइरालालाई स्मरण गर्दै नेताहरूले भनेः शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

प्रकाशित मिति :  2 July, 2024 4:35 pm


काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गर्नुपर्ने बताएका छन्।

मंगलवार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रमाम बोल्दै उनले सो कुरा बताएका हुन् । नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोईरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरूलाई दवाव दिए ।

नेता सिटौलाले भने,”सत्य निरुपण तथा वेपत्ता छानविन आयोग, त्यो सम्बन्धि कानूनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूरा गर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाई गर्न नहुने बताए ।

उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरूले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए। अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गन पनि दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !