२३ असार २०८१, शनिबार

संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न पदमबहादुर परियारको माग

प्रकाशित मिति :  3 July, 2024 2:38 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन् । बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरेका हुन् ।

परियारले संसद्को गतिविधिबाट नेपालका हजारौँ बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसदमा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरे । उनले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरे ।

परियारले संघीय संसदमा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख भएको उल्लेख गरे । उनले संसद्को प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा पनि हुन आवश्यक रहेको बताए । उनले बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसदमा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गरे ।

परियारले प्रतिनिधि सभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रिय सभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताए । उनले राष्ट्रिय सभामा बजेट बारेमा छलफल गर्नुको तात्त्विक अर्थ नभएको बताए । उनले बजेटका सम्बन्धमा अबपनि छलफल गर्नु खर्च गर्नु मात्रै भएको बताए । उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षको समन्वयमा दुवै सदनबाट एकैपटक पारित गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

परियारले कानुनी व्यवस्था नै नमिल्दो रहेको भन्दै यस सम्बन्धमा कानुनी व्यवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !