१९ आश्विन २०८१, शनिबार
बदलिएको सत्ता समिकरण

लुम्बिनी र बागमती प्रदेशमा सरकारको नेतृत्वमा आलोपालो, छनौटको जिम्मा नेपाली कांग्रेसलाई

प्रकाशित मिति :  7 July, 2024 1:53 pm


काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले लुम्बिनी र बागमती प्रदेशमा आलोपालो गरेर सरकारकाे नेतृत्व गर्ने आन्तरिक सहमति गरेको खुलेको छ ।

स्रोतका अनुसार दुबै प्रदेशमा कांग्रेस र एमालेले बाँकी रहेको कार्यकालमा आधा-आधा समय सरकारको नेतृत्व गर्ने छन् ।

बागमती वा लुम्बिनी कुन प्रदेशमा पहिले सरकारको नेतृत्व गर्ने भनेर छान्ने जिम्मा नेपाली कांग्रेसले पाएको छ ।

स्रोतले भन्यो,“ लुम्बिनी र बागमती प्रदेशमा दुबै दलले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा कुन प्रदेशमा सरकारको नेतृत्व गर्ने भन्ने विषय नेपाली कांग्रेसले छनौट गर्ने छ ।”

संघमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएपछि त्यसको प्रभाव प्रदेशमा समेत परेको छ ।

यसअघि सार्वजनिक भएको सहमति अनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भनिएको थियो भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख थियो ।

मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति छ ।

स्रोतले भने लुम्बिनी र बागमतीमा आलोपालोको आन्तरिक सहमति भएको जानकारी दिएको हो । लुम्बिनी र बागमती प्रदेशमा अहिले माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।

बदलिएको समिकरणसँगै दुबै प्रदेशमा सरकारको नेतृत्व अल्पमतमा परेको छ । लुम्बिनीमा पहिले कुन पार्टीले सरकारको नेतृत्व गर्ने भन्ने विषय भने नेपाली कांग्रेसमा भर पर्ने छ ।

कांग्रेसले लुम्बिनी छनौट गरेको अवस्थामा बागमतीमा एमालेले पहिलो सरकारको नेतृत्व गर्न पाउने छ ।

लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्दा माओवादी केन्द्रको नेतृत्वमा छोटो समय मात्रै सरकारमा रहेका मन्त्रीहरूले पुन दोहोरिने अवसर पाउन सक्ने सम्भावना देखिएको छ ।

एमालेले सरकारकाे नेतृत्व गरेको अवस्थामा लिला गिरी मुख्यमन्त्री बन्न सक्छन् र मन्त्रिपरिषद्का सदस्यहरू पनि नयाँ ढंगले छनौट हुन सक्नेछन् ।

यी दुबै प्रदेशमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतसहित सरकार बनाउन सक्छन् ।



प्रतिक्रिया दिनुहोस !