२० आश्विन २०८१, आइतबार

असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला

प्रकाशित मिति :  8 July, 2024 8:13 am


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन्।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक बर्तौलाले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको जनाए।

उनले काँग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने जानकारी दिए।

उनले भने, “मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं । अहिले चाहीँ केही छलफल भएको छ । टुंगो कुनैपनि लागेको अवस्था रहेन ।”

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !