१२ पुस २०८१, शुक्रबार

वाटर ड्रोनमार्फत त्रिशूलीमा बेपत्ता यात्रु र बस खोज्न सुरू

प्रकाशित मिति :  13 July, 2024 9:07 am


काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर २९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको वाटर ड्रोनमार्फत खोजिने भएको छ ।

पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरू भएको छ । र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ । नेपाली सेना र नेपाल प्रहरी पनि खोजीकार्यमा परिचालित रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।



प्रतिक्रिया दिनुहोस !