२३ भाद्र २०८१, आइतबार

मःमःको अचारमा गन्ध आएपछि बर्गर हाउसलाई महानगरले तिरायो २ लाख जरिवाना

प्रकाशित मिति :  13 July, 2024 9:23 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ ।

अनलाइन मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम कारबाही गरिएको महानगरले जनाएको छ ।

असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा बर्गर हाउसले उपभोक्तालाई पठाएको म म को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय बर्गर हाउसलाई जानकारी गराएका थिए ।

महानगरका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्छन्, “गुनासो आएपछि बर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानबिन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारबाही गरिएको हो ।”

उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका बर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मस्मस्को अचारमा गन्ध आएको स्वीकार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !