४ माघ २०८१, शुक्रबार

‘न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण’

प्रकाशित मिति :  14 July, 2024 7:25 am


काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताएका छन्।

शनिवार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै उनले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिनेबताए।

उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताए।

अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याए। लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ ।

गलतलाई गलत र सहीलाई सही भन्न सक्ने जमात नेपाली समाजमा कम हुँदै गएको भन्दै राउतले चिन्ता व्यक्त गरे। निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गरे।

न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको चर्चा गर्दै लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गरे।

राउतले भने, “आज न्यायपालिका लयमा फर्काउनमा राज्यको चौथो अंगको योगदान अविष्मरणीय छ र इतिहासमा सुनौलो अक्षरले लेखिन्छ । न्यायालय लयमा फर्किंदाखेरी यो परिवेशलाई आज यो लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । यदी नेतृत्व भ्रष्ट, घृणित भयो भने कसैको केही लाग्दैन । त्यति बेला कलम लेख्नबाट हटाउनु भयो मुलुकले ठूलो मूल्य चुकाउँछ ।”

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताए।

उनले विभिन्न देशहरुले पनि कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताएका हुन्।

न्यायाधीशहरु र अदालतका कर्मचारीहरुले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरुबीच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने तर्क गर्दै सबैको पहुँचमा सूचना पुग्नेकुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलले बताए।

फुयाँलले भने, “पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा परिवर्तन आएको छ । प्रिन्ट मिडिया मात्रै थियो, एक जमानामा, अहिले इलेक्ट्रोनिक मिडियाहरु आएका छन् । अहिले सबैका हातहातमा मिडिया छ । यो एक खालको खुशीको कुरा हो । यसमा वास्तवमा दुःख मान्नुपर्ने कुरा छैन ।”

नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढंगबाट संप्रेषण गर्न आवश्यक रहेको बताइन्।। अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको उनको भनाइ छ।

सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरुसमक्ष पु¥याउँदा नै समाज सही बाटोमा जाने धारणा राखिन्।

खनालले भनिन्, “पत्रकारले समाचार कभर गर्दा फेसबुक, अरु अनलाइनबाट कभर गर्दा त्यो समाचार अलिकति टुक्रिँदै जान्छ । यसले अलमल पार्दछ । जस्ताको त्यस्तै पत्रकारिता गर्न सक्नुपर्छ । नागरिकलाई सत्यतथ्य देखाउने काम गर्नुपर्छ ।”

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताए।

उनले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने बताए। । अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्नसक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुने उनको तर्क छ।

बस्नेतले सञ्चारमाध्यमले स्वच्छ रुपमा अदालतका कुराहरु बाहिर ल्याउन आवश्यक रहेको चर्चा गर्दै स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गरे।

बस्नेतले भने, “अदालतले फैसला र आदेशमार्फत बोल्ने हो । त्यो फैसला र आदेश आफ्नो बारेमा हुँदैन । अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुन्छ । अरु मानिसहरुको झुण्ड आएर पनि अदालतको बारेमा बोलिदिने होइन । मिडियाले स्वच्छ तरिकाले रिपोर्टिङ गरेर अदालतका कुरा ल्याउनुपर्छ । स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री हो।”

कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताए।

गाउँलेले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको चर्चा गर्दै उनले पत्रकारहरु डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताए।

नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत रहेका गाउँलेले भने, “पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु हो । टेलिफोन निर्भर भएका कारण आत्मविश्वासका साथ समाचार लेख्न सकेको छैन । डिजिटल प्ल्याटफर्मका कारण सुविधाभोगी भएका छौँ ।”

गाउँलेले न्यायलयमा धेरै हदसम्म परिवर्तन आएको पनि पनि बताए। प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने भनाइ उनको छ।

अहिले झन्डै दुई तिहाईको सरकार बन्न लागेको उल्लेख गर्दै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्नेकुरा सुखद् भएको टिप्पणी गाउँलेको छ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !