३ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेशमा एमालेबाट अबको मुख्यमन्त्री को ?

प्रकाशित मिति :  14 July, 2024 2:16 pm


काठमाडौँ । संघीय सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार फेरिने निश्चित छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा छ ।

अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिने नेकपा एमालेको विश्वास छ ।

राजीनामा नदिए पनि विश्वासको मत पाउन मुख्यमन्त्री महरालाई गाह्रो छ । लुम्बिनीमा नेकपा एमालेले सरकारको नेतृत्व गर्ने करिब निश्चित जस्तै छ ।

बागमती र लुम्बिनीमा आलोपालो गर्ने सहमति भएपछि नेपाली कांग्रेसले बागमतीमा चासो देखाएको छ ।

लुम्बिनीमा पहिलो कार्यकाल नेतृत्व पाउने देखिए लगत्तै नेकपा एमालेभित्र मुख्यमन्त्री को बन्ने भन्ने छलफल सुरू भएकाे छ ।

संसदीय दलको नेताको हैसियतमा पूर्वमुख्यमन्त्री लिला गिरी नै मुख्यमन्त्री बन्न चाहन्छन् तर मुख्यमन्त्रीमा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य समेत दौडमा छन् ।

उनी काठमाडौँमै बसेर मुख्यमन्त्रीका लागि लबिङ गरिरहेका छन् । केपी शर्मा ओलीको सपथ लगत्तै प्रदेश सरकारको हेरफेर सुरु हुने छ ।

यसका लागि निवर्तमान मन्त्री आचार्यले मुख्यमन्त्री बन्ने चासो व्यक्त गरेको स्रोतले जनाएको छ । आचार्यले आफू अब मन्त्रीका रुपमा नदोहोरिने र मुख्यमन्त्री बन्ने इच्छा प्रकट गरेको उनी निकटस्थहरू बताउँछन् ।

उनले पार्टी अध्यक्ष, महासचिव लागायतसँग छलफल गरिसकेका छन् । यद्यपी अफ्ठेरो भने छ ।

संसदीय दलको नेताले नै मुख्यमन्त्री बन्न चासो देखाएकाले आचार्यलाई सहज भने छैन । संसदीय दलका नेता गिरीले सहजिकरण गरे मात्रै आचार्य मुख्यमन्त्री बन्ने बाटो सजिलाे हुने छ ।

स्रोतले भन्यो,“ संसदीय दलको नेता नै हटाउँदा बाहिर गलत सन्देश जान्छ । संसदीय दलको नेताले नै सहजिकरण गर्दा मात्रै चेतनारायणजीलाई सजिलो हुन्छ । ”

पार्टीभित्रको आन्तरिक समीकरणले पनि नेतृत्वमा प्रभाव पार्ने छ ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरलेका प्रदेश भएकाले पनि को मुख्यमन्त्री बन्ने भन्ने विषय आन्तरिक समिकरणले फरक पार्ने छ ।



प्रतिक्रिया दिनुहोस !