२ कार्तिक २०८१, शुक्रबार

लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छ’

प्रकाशित मिति :  15 July, 2024 7:35 am


काठमाडौँ। कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

आईतवार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताएका हुन्।

उनले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरितका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको जानकारी गराउँदै युनेस्कोको मान्यता विपरितका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताए।

उनले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कुटनीतिक पहल गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए।

गुरुङले भने, “लुम्बिनी युनेस्कोको विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरित काम भए जसको कारणले लुम्बिनीलाई निकट भविष्यमै खतराको सुचीमा जाँदैछ भन्ने चेतावनीमुलक कुराहरु आएको छ । अहिले पनि युनेस्कोले लुम्बिनीलाई युनेस्कोको खतराको सुचीमा प्रवेश हुन नदिनको निमित्त हामीले केही कुटनीतिक पहल पनि गर्नुपर्ने अवस्था छ । म पुरातत्व विभागका साथीहरुलाई त्यतातिर ध्यान दिनको निम्ति अनुरोध गर्दछु ।”

आफुले आफ्नो कार्यकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको उनको भनाइ छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी गराउँदै उनले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिवन्ध हटाउन सुधारका कामहरु शुरु भएको भन्दै निष्कर्षमा पु¥याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !