नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णय : सिमताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छबि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रित गर्ने गर्ने जानकारी दिँदै गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने बताए ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले बगाएर दुई ओटा बस त्रिशुलीमा खसेका थिए ।