सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।
मंगलवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । उनले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे ।
“प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रीपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस्,” उनले भने ।
प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताए ।