समाजवादी मोर्चाद्वारा आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल गठन
काठमाडौँ। समाजवादी मोर्चाले आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ ।
मंगलवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले विगतका अनुभवहरुलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
समग्र समीक्षालाई दस्ताबेजीकरण गरेर आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्नेगरी नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, प्रमेश हमाल र देव गुरुङ रहेको बताए।
बैठकपछि निर्णय सुनाउँदै नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा हालै भएको घटना, माजवादी मोर्चाको विगतको काम कारबाही र समग्र देशको स्थितिको बारेमा समीक्षा भएको बताए।
उनले नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्धत रहेको निस्कर्ष निकालेको बताए।
उनले कार्यदलले पेश गरेको प्रतिवेदनमा छलफल गरी छलफलको निस्कर्षअनुसार अघि बढ्ने बताए। विगतमा मोर्चाबारेमा उठेका प्रश्नको जवाफ दिने र जनतामा आशा दिनेगरी कार्यक्रमहरु ल्याउने जिकिर गरे।
विश्वकर्माले भने, “समाजवादी मोर्चाको एउटा कार्यदल बनेको छ, यसको समग्र समीक्षालाई दस्ताबेजीकरण गरेर आगामी यसको योजना र कार्यक्रमसहित तय गर्नेगरी आगामी १५ दिनभित्र तय गर्नेगरी कार्यदल बनेको छ । त्यसले प्रतिवेदन पेश गर्छ र आगामी बैठकमा छलफल हुन्छ । त्यो आधारमा सशक्त ढंगले समाजवादी मोर्चा अघि बढ्नेछ ।”
उनले बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समाजवादी मोर्चा नेपालमा आवद्ध गर्ने निर्णय भएको बताए।
सबै प्रगतिशिल र कम्युनिष्ट घटकहरुसँग छलफल अघि बढाउने र आगामी दिनमा जनता समाजवादी पार्टी, नेपाल र मोहन विक्रम सिंहले नेतृत्व गरेको पार्टीलाई पनि समाजवादी मोर्चामा ल्याउने गरी छलफल अघि बढाउने निर्णय भएको छ।
बाढी पहिरो लगायतका घटनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै सरकारलाई छिटो भन्दा छिटो उद्धार र राहत एवं जनताको घाउमा मल्हम लगाउने काम गर्न अपिल गरेको छ ।
—न्युज एजेन्सी नेपाल