४ माघ २०८१, शुक्रबार

उच्च अदालत जनकपुरमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

प्रकाशित मिति :  17 July, 2024 2:06 pm


काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०\०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ । मंगलबार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०\०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको हो ।

तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो । उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०\०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरि आएका र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उनले बताए ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०\०८१ मा मुद्दाको फर्छ्यौट देशका अन्य उच्च अदालत भन्दा बढी रहेको अनुमान गरिएको छ ।

उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !